
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । उत्पादनको सिजनसँगै होलसेल बजारमा हरियो तरकारीको भाउ घटेको छ ।
एक महिनामा प्रायः सबै तरकारीको भाउ घटेको छ । तरकारीको मूल्य ७८ प्रतिशतसम्म घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । समितिका अनुसार पुस १७ मा गाँजरको होलसेल मूल्य प्रतिकिलो ११५ रुपैयाँ थियो । माघ १७ सम्म आइपुग्दा मूल्य घटेर प्रतिकिलो २५ रुपैयाँमा झरेको छ । प्रतिकिलो २८ रुपैयाँ पर्ने बन्दा अहिले होलसेल बजारमा किलोको १५ रुपैयाँमा पाइन्छ ।
एक महिनाअघि कालीमाटी बजारमा प्रतिकिलो २५ रुपैयाँ पर्ने काउलीको मूल्य घटेर १२ रुपैयाँमा झरेको छ । गोलभेंडा ३८ रुपैयाँबाट घटेर २२ रुपैयाँ र ३५ रुपैयाँ पर्ने मूला घटेर २० रुपैयाँमा बिक्री भइराखेको छ । उल्लिखित तरकारीको मूल्य एउटा उदाहरण मात्रै हो । कालीमाटी तरकारी बजारमा अधिकांश मूल्य घटेको छ । आन्तरिक उत्पादन घट्ने र मूल्य घट्ने सिजन भएको समितिका कार्यकारी निर्देशक महादेवप्रसाद पौडेलले बताए । तरकारीको मूल्य माघसम्म घट्ने उनले बताए ।
अहिले हरियो तरकारीको उत्पादन हुने सिजन हो, माघ महिनासम्म मूल्य घट्छ नै । बन्दाको मूल्य फागुनसम्मै घट्छ,’ उनले भने, ‘मूल्य घटेर किसानको लागत उठेको छैन । किसानलाई समस्या भएको छ ।’ कालीमाटीमा घटेको मूल्य सर्वसाधारणले पनि सस्तोमा किन्न पाएका छन् त ? पक्कै छैन । होलसेलबाट खुद्रा बजारसम्म आइपुग्दा मूल्य चर्को नै छ । घटेको मूल्य सर्वसाधारणले महसुस गर्न पाएका छैनन् । होलसेल बजारबाट बाहिरिएलगत्तै तरकारीको मूल्य दोब्बर पर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij