
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरू वेचन झा र टेकनारायण पाण्डेको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदैछ ।
निलम्बित सचिव पाण्डेको मुद्दा एकल इजलासमा र झाको मुद्दा संयुक्त इजलासमा पेसी रहेको छ। जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो । पाण्डेको मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी रहेको छ। त्यस्तै झाको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअघि पाण्डेको मुद्दा हेर्न नभ्याउने भएको थियो भने झाको मुद्दामा फाइल मगाउने आदेश गरेको थियो । पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ हुँदैछ । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए ।
त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् । उनी पहिलो अभियोगपत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोगपत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाड, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो । बेचन झा भने पूरक अभियोगपत्रवाट यो प्रकरणमा जोडिएका हुन् । पहिलो अभियोगपत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए ।
भारतबाट पक्राउ गरि ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोगपत्र दर्ता गराएको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा शुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij