
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नक्कली भुटानस् शरणार्थी प्रकरणमा मुछिएका सरकारका सचिव टेकनारायण पाण्डेलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । सचिव पाण्डेकी श्रीमती मञ्जु पाण्डेले शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन् ।
आफ्ना श्रीमानलाई गैरकानूनी रूपमा थुनामा राखेको भन्दै उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय र सर्वोच्च अदालतलाई समेत विपक्षी बनाएर उनले निवेदन दर्ता गरेको सर्वोच्चले जनाएको छ ।
शुक्रबार दर्ता भएको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने कार्यसूची रहे पनि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हेर्न नभ्याउने भएपछि मुद्दा स्थगित भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
उनका अनुसार उक्त निवेदनको पेशी भोलिका लागि तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij