
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । ताप्लेजुङमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भएको छ ।
फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर ३ जनाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता विवेक बस्नेतले नेपाल लाइभलाई जानकारी दिए ।
उनका अनुसार ४ जनामध्ये एकजना भने डिस्चार्ज भएका भएका छन्। प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन्। यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो। उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो ।
मंगल लावतीको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएका हुन्। झडपमा परेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० जना घाइते भएका तर अवस्था समान्य रहेको प्रहरी निरिक्षक बस्नेतले बताए । मुकुम्लुङ बचाउ संघर्ष समितिले केबलकार निर्माणको विरोधमा आजदेखि आन्दोलन गर्ने तयारी गरेको थियो। आन्दोलनलाई रोक्न भन्दै हिजो नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij