Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नारायणी नदी किनारमा चितवन महोत्सव

नारायणी नदी किनारमा चितवन महोत्सव

  • काठमाडौं । चितवनको गौरव र गरिमाय प्रस्तुतिका रुपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको १५औँ संस्करणको चितवन महोत्सवको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्दैछन् ।

    images
    images
    images

    महोत्सवको प्रचारप्रसारका लागि विभिन्न झाकीहरु प्रर्दशन गरिएका छन् । महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार आजदेखि सुरु हुने महोत्सव माघ १० गतेसम्म १५ दिन चल्ने छ । महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पु‍र्‍याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु‍र्‍याउने विश्वास लिइएको छ ।

    आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको छ । महोत्सवमा यसपटक पर्यटन प्रवर्द्धनलाई जोड दिइँदैछ । अध्यक्ष श्रेष्ठका अनुसार यस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरू गरिने छ ।

    अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

    अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने छ । महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

    महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर समेत राखिनेछ । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।चितवन महोतसव प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij