
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।
चराविद्हरुका अनुसार यी जलपन्छी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर कर्याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् ।
नेपालमा हिउँदमा बसाईसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गाचील आदि पर्छन् । यतिखेर मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना सुरु गरिएको छ ।
नेपाल पन्छीविद् सङ्घले गणनामा समन्वय गरिरहेको छ । सो संस्थाका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालले देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन गणना सुरु गरिएको बताउनुभयो । हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपन्छी गणना सुरु गर्ने गरिएको छ । यस वर्षको गणना जनवरी ४ देखि १९ सम्म ९पुस २० गतेबाट माघ ६ गते सम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij