
Apr 02 2025 | २०८१, चैत २० गते
सियोल : दक्षिण कोरियाका राष्ट्रपति युन सुकयोललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ । तर राष्ट्रपतिका समर्थक ठूलो संख्यामा जम्मा भएर गिरफ्तारीको विरोधमा उत्रिएका छन् ।
प्रेसिडेन्शियल सेक्युरिटी फोर्सले पुलिसलाई राष्ट्रपति युनसम्म पुग्न रोकिरहेको छ ।युनले गत ३ डिसेम्बर राति अचानक मार्शल कानुन घोषणा गरेका थिए । त्यसपछि उक्त कदमको देशभर विरोध भएको थियो । त्यसपछि राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको छ। त्यही प्रकरणमा उनीविरुद्ध यही साताको सुरुमा पक्राउ पुर्जी जारी भएको थियो ।
युनलाई राष्ट्रपतिको शक्ति दुरुपयोग र विद्रोहका लागि जनता उकासेको मामिलामा जाँच गरिरहेका अधिकाहरूसामु पेश गर्ने तयारी थियो । उनलाई जाँच अधिकारीसामु उपस्थित हुन नोटिश पठाइए पनि जवाफ दिन इन्कार गरिदिएका थिए ।
यस्तो अवस्थामा करिब २० जना पुलिस अधिकारीहरूको टोली शुक्रबार उनलाई गिरफ्तार गर्न उनको घरमा पुगेको हो ।राष्ट्रपतिका वकीलले भने यस्तो गैरकानुनी पक्राउ पुर्जीको कानुनी चुनौती दिइने बताएका छन् । १४ डिसेम्बरमा सांसदहरूले उनीमाथि महाभियोग लगाउन मतदान गरेका थिए ।
त्यसपछि राष्ट्रपतिलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।तर उनलाई देशको संवैधानिक अदालतको फैसलामार्फत् मात्रै हटाउन सकिन्छ । यसैबीच उत्तर कोरियाको तर्फबाट प्रतिक्रिया आएको छ । उत्तरले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को स्थिति बनेको टिप्पणी गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij