
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । धरहराबाट सर्वसाधारणका लागि खुला भएको पहिलो सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । पुनः निर्माण सम्पन्न भएपछि मंसिर ९ गतेबाट शुल्कसहित सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार एक सातामा ८ हजार ३१६ जनाले धरहरा अवलोकन गरेका छन् । १२ वर्षमुनिका बालबालिकाको तथ्यांक नराखिएको उनले बताए ।
धरहरा चढ्न प्रतिव्यक्ति शुल्क २ सय तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र अन्य राष्ट्रका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
धरहरा सञ्चालनका लागि सरकारको निर्णयअनुसार विभिन्न शुल्क लागू गरिएको छ । पार्किङ शुल्क दुई पाङ्ग्रेका लागि प्रतिघण्टा १० र चार पाङ्ग्रेलाई २० रुपैयाँ तोकिएको छ । परिसर प्रवेशका लागि ५० रुपैयाँ शुल्क लिने व्यवस्था छ । राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा ५ हजार, भिडियो छायाङ्कनका लागि ५ हजार, र फोटोग्राफीका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij