
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन् ।
सांसदका रूपमा तेस्रो सार्वजनिक सुनवाइ गर्न चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन पुगेका बेला सभापति लामिछानेले यस्तो बताएका हुन् ।
सहकारीको पैसा ल्याउने कुरामा आफ्नो संलग्नता नरहेको चितवन पुगेर पनि सभापति लामिछानेले दाबी गरे । ‘तर, आएको पैसामा सञ्चालक समेत रहेकाले जिम्मेवारी लिनुपर्छ भनेको छ । कार्यकारी अध्यक्षले सञ्चालक समितिलाई जानकारी नै नदिई व्यक्तिगत रुपमा निर्ब्याजी ऋण ल्याउँदा ‘तँलाई किन थाहा भएन’ भन्छन् । थाहा भएन त म के गरौं ?,’ उनले भने, ‘त्यतिखेर कोही एक जनाको मात्रै गुनासो आएको भए, गोरखा मिडियामा गैरकानूनी रूपमा सहकारीको पैसा भित्रिएको छ भन्ने जानकारी पाएको भए, त्यतिबेलै खोज्थे नि । तर, राजनीतिमा आएपछि थाहा पाएँ ।’
यो विषय आफू दोस्रो पटक मन्त्री भएपछि राजनीतिक स्वार्थमा उचालिएको पनि उनले दाबी गरे । ‘अझ म दोस्रो पटक मन्त्री भएपछि राजनीतिक स्वार्थका लागि यो विषय चर्कोसँग उचालियो,’ उनले भने ।
आफूले कम्पनीको खातामा भएको रकम मात्रै खर्च गरेको पनि सभापति लामिछानेले बताए । उनले भने,‘मैले त कम्पनीको खातामा भएको पैसा कम्पनीकै हितका लागि खर्च गरेको हुँ । बैङ्कबाट बैङ्कमै आएको पैसाबारे मलाई होइन राज्यका सम्बन्धित निकायलाई जानकारी हुनुपर्थ्यो होइन र ? ६५ करोड नै म हुँदा आएको र त्यसमा मेरो जिम्मेवारी हुनुपर्छ भनेर गलत व्याख्या गरिँदैछ, त्यो सत्य होइन् ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij