
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सर्लाहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । बलरा नगरपालिका-४ जब्दी टोल बस्ने स्थानीय पूजा देवी सहनीको मंगलबार राति शंकास्पद मृत्यु भएको हो ।
उनको मृत्युपछि घरका सबै पुरुष सदस्य फरार भएपछि महिलाको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । पूजाको सासू बनारसी देवी सहनीलाई भने सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।सर्लाहीका एसपी प्रविन धितालले भने, ‘हामीले महिलाको सासूसँग सोधपुछ गरिरहेका छौं, अस्पतालको पोस्टमार्टम रिपोर्ट आएपछि केही तथ्य खुल्ला ।’ महिलाको शवलाई परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
स्थानीयले घटना हुनुअघि घरमा विवाद भएको बताएका छन् । मृतक २१ वर्षिया पूजा देवीको घाँटीमा निल डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी पनि फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र फरार भएकालाई खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij