
Apr 08 2025 | २०८१, चैत २६ गते
दक्षिणपूर्वी एसियाली राष्ट्र म्यान्मारमा स्वतन्त्रता दिवसको उपलक्षमा जुन्ता सरकारले सात हजारभन्दा बढी कैदीहरुलाई रिहा गर्ने घोषणा गरेको छ । बुधबार सैन्य शासकहरूद्वारा जारी विज्ञप्तिमा,‘सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै जनताको मानसिक शान्ति र देशको स्वतन्त्रता दिवसको सम्झनामा’ देशभरका कारागारहरूबाट कुल ७,०१२ कैदीहरूलाई मुक्त गर्ने बताएको छ ।
तर, जुन्ता प्रशासनले,‘आतंकवाद, विस्फोटक पदार्थको प्रयोग, गैरकानुनी संगत, भ्रष्टाचार, हत्या वा लागूपदार्थ’ सम्बन्धी अभियोगमा दोषी ठहर भएकाहरूलाई रिहा नगरिने बताए ।म्यान्मारले हरेक वर्षको जनवरी ४ मा स्वतन्त्रता दिवस मनाउने गरेको छ । १९८४ मा बेलायती शासनबाट स्वतन्त्रता पाएको म्यानमारले त्यस सालदेखि स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) को सरकार हुँदा धार्मिक मामिला मन्त्री थुरा आङ सहित धेरै कैदीहरूलाई पहिले नै रिहा गरिएको रिपोर्टले बतायो । बर्मी सेनाले फेब्रुअरी २०२१ मा तत्कालिन सरकारबिरुद्ध विद्रोह गरी कू गरेपछि म्यानमारमा नागरिक अशान्ति सिर्जना भएको हो। संयुक्त राष्ट्रसंघले देश गृहयुद्धमा फसेको भन्दै चेतावनी दिए पनि जुन्ताले जनताको प्रदर्शन र प्रतिरोधलाई हिंसात्मक जवाफ दियो ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि १ सय ८८ बालबालिकासहित कम्तीमा २ हजार ३१६ जनाको मृत्यु भएको राष्ट्रसंघीय अधिकार कार्यालयले जनाएको छ । त्यसबाहेक एनएलडीकी नेतृ आङ सान सुकीलाई ३३ वर्षको जेल सजाएसहित अन्य हजारौंलाई गिरफ्तार गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij