
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । चितवनका ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखिएको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको जनाएको छ ।
कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवन जिल्लामा पछिल्लो चार महिनामा तिब्ररुपमा फैलिएको बर्डफ्लु ३१ पोल्ट्री फार्ममा देखापरेको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. प्रभाष न्यौपानेका अनुसार जिल्लाभरि नै फैलिएको र अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको छ ।
यस्तै बर्डफ्लु देखिएका फार्महरूमा ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको जनाइएको छ ।
सूचना अधिकारी न्यौपानेका अनुसार बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तिब्ररुपमा फैलिएको अनुमान गरिएको छ ।
यस्तै, सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक बिश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको र अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको जनाईएकोे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij