
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । पर्यटकको प्रमुख गन्तव्य मानिएको भक्तपुरमा पर्यटक सूचना तथा सेवा केन्द्रको स्थापना गरिएको छ ।भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सञ्चालनमा ल्याएको पर्यटक सूचना केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा–२ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको शुक्रबार साँझ उद्घाटन गरे । सोही क्रममा अध्यक्ष बिजुक्छेँले सूचना केन्द्रको भवनमा राखिएको डिजिटल बोर्ड र नपाको समेत वेभसाइट शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको भौगोलिक, धार्मिक तथा सांस्कृतिक महतव बोकेका स्थानहरुको विषयमा आवश्यक पर्ने सबै खालका सूचना उपलब्ध गराउन र भक्तपुरको पर्यटन उद्योगमा टेवा पुग्ने ढंगले पर्यटक सेवा केन्द्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । भक्तपुर नगरपालिका नगरबासी जनताको साझा संस्था भएको बताउँदै उनले भक्तपुरमा पर्यटकहरुको संख्या वृद्धिसँगै यहाँका स्थानीय जनताहरुको जीवनस्तरमा सुधार आउने, रोजगारीको अवसर सिर्जना हुने तथा पर्यटन व्यवसायीहरु यसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।
अध्यक्ष बिजुक्छेँले पर्यटन प्रवद्र्धन गर्न भक्तपुरको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उनले पर्यटकहरुले आफूले घुमेको ठाउँको विषयमा देश–विदेशमा समेत प्रचारप्रसार गर्ने हुँदा पर्यटकहरुलाई सकारात्मक ढंगले आकर्षित गर्न सक्नु नेपालीहरुको निम्ति उपलब्धीमूलक हुने बताए । भक्तपुरको मौलिकता कायम गर्नु नै यहाँको पहिचान गर्नु हो भन्दै उनले पर्यटकहरुलाई राम्रो र असल व्यवहार मात्र गर्न सके पनि पर्यटकहरुमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
उद्घाटन कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक र पर्यटकीय हिसाबले भक्तपुर महत्वपूर्ण ठाउँ भएको बताउँदै भक्तपुर नपाले यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्ने विविध गतिविधिलाई चालु राख्दै आएको बताए । विश्व सम्पदामा सूचीकृत यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखी २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त अधिकांश सबै सम्पदाहरुको जीर्णोद्धार तथा पुनःनिर्माण समेत सम्पन्न गरिसकेको उनले बताए ।
सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुर नपा–१० कमलविनायकको बारे पुखु, नवदुर्गा द्यो छेँ, चोफल, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, तालाक्व, इछु, लायकू (दरबार क्षेत्र), खौमा, इन्द्रायणी हुँदै भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रमा पुगी सभामा परिणत भएको थियो ।
पदयात्राको क्रममा धाँ बाजा, माक प्याखं र पछिमा बाजाको टोली रहेको थियो भने भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर नपा र पर्यटक सूचना केन्द्रका कर्मचारीहरु, पर्यटक प्रहरी, पथ प्रदर्शक, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij