
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ ।
गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएकमा छन् । उनले १६२ मत ल्याएका थिए । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।
यस्तै प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित भएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिए ।
प्रदेश समितिमा नौ सदस्यीय पदाधिकारी रहने पार्टीको विधानमा व्यवस्था रहेको छ । प्रदेश समितिका सदस्यमध्येबाट पदाधिकारी छनोट हुने व्यवस्था विधानमा छ । यसअघि माओवादीको दुई भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको नेतृत्व चयन भइसकेको छ । गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी तथा उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन भएको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
प्रदेशको नेतृत्वका आकांक्षी बढी हुँदा नेतृत्व चयनमा ढिलाइ हुँदै आएको थियो । माओवादीले गत मङ्सिर २५ गते एकसाथ सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन सम्पन्न गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij