
Apr 30 2025 | २०८२, वैशाख १७ गते
दरबन्दी थपिए पछिल्लो ब्याचका एसएसपीहरु सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, भीम ढकाल बढुवामा पर्ने सम्भावना छ ।
काठमाडौं । नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थपिने प्रबल सम्भावना देखिएको छ । एसएसपीको दरबन्दी रहेको लागूऔषध नियन्त्रण ब्यूरोमा डिआइजीको सरुवा भएसँगै गृह मन्त्रालय दरबन्दी थप्ने पक्षमा देखिएको छ । गत शनिबार डिआइजी मुकुन्द आचार्यलाई ब्यूरोमा काज सरुवा गरिएको हो ।
ब्यूरोमा केही समयपछि डिआइजीकै दरबन्दी राख्ने यौजनाअनुसार उनको काज सरुवा गरिएको स्रोत बताउँछ । ब्यूरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भरतपुर तालिम केन्द्र, महानिरीक्षकको सचिवालय, ट्राफिक महाशाखालगायत निकायमा डिआइजीको दरबन्दी थप्ने प्रयास भइरहेकोे छ ।
एआइजीको पनि दरबन्दी थप्ने चलखेल जारी छ । डिआइजीहरू रविन्द्र धानुक, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामालगायतलाई बढुवा गर्न एआइजीको दरबन्दी थप हुन लागेको हो । तर, ठ्याक्कै कति दरबन्दी थप हुने प्रष्ट भएको छैन ।
एआइजीको दरबन्दी थपिए डिआइजीको बढुवामा मारामार हुने देखिन्छ । अवकाश पाउन लागेका डिएसपीहरू पूजा सिंह, हरिराज वाग्ले, विक्रम चन्द, शेखर कोइराला, सुशील यादव, मोहन आचार्य, प्रदीप श्रेष्ठलगायतलाई बढुवा गर्न दरबन्दी थप हुन लागेको हो ।
दरबन्दी थपिए पछिल्लो ब्याचका एसएसपी पनि बढुवामा पर्ने सम्भावना छ । जसमा सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, भीम ढकालको नाम चर्चामा छ । उनीहरूमध्येबाटै दुई वर्षपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन हुने भएकाले पनि यो ब्याचमा बढुवामा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij