Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा रेललाई निशाना बनाएर गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन्।
सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार विस्फोट गराईएको थियो।
प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ।
प्राप्त तस्बिरहरूमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा पहरा दिएको छ।
अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
अर्का अधिकारीले एएफपीलाई बताएअनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए।
बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचकाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ।
यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij