Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिकी मिडिया आउटलेट फाइनान्सियल टाइम्स र एक्सियोसका अनुसार ईरान युद्ध अन्त्य गर्न पाकिस्तान सम्भावित मध्यस्थकर्ताका रूपमा उभिन सक्ने सम्भावना छ।
यसै प्रयासअन्तर्गत पाकिस्तानले अमेरिकन र ईरानी वरिष्ठ नेताहरूबीचको बैठक राजधानी इस्लामाबादमा गराउने प्रस्ताव गरेको भनिएको छ। तर यसबारे आधिकारिक पुष्टि न त अमेरिकाबाट भएको छ, न त ईरानबाट । यद्यपि, अमेरिकी उच्च अधिकारीहरूका अनुसार पाकिस्तानको मध्यस्थका रूपमा उभारिनु आश्चर्यजनक होइन।
पाकिस्तानको ईरानसँग निकट सम्बन्ध छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा शहबाज शरीफ सरकारको अमेरिकी प्रशासनसँग पनि सम्बन्ध न्यानो रह्यो।
पाकिस्तानका रक्षा प्रमुख आसिम मुनीरले गत वर्ष जुन र सेप्टेम्बरमा ट्रम्पसँग भेट गरेका थिए। सेप्टेम्बरको भ्रमणमा प्रधानमन्त्री शहबाज शरीफ पनि उपस्थित थिए। पाकिस्तानले भारतसँगको झडपका क्रममा ट्रम्पको मध्यस्थता प्रयासलाई समर्थन गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकन पनि गरेको थियो।
शहबाज शरीफले सोमबार ईरानी राष्ट्रपति मसूद पेज़ेश्कियानसँग फोनमा कुरा गर्दै ईद-उल-फितर र नवरोजको शुभकामना दिएका थिए । उनले ईरानी जनताको साहसिक संघर्षमा पाकिस्तानको समर्थन व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइते तथा विस्थापितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
दुवै नेताले खाडी क्षेत्रमा बढ्दो तनावबारे छलफल गर्दै वार्ता र समझदारीमार्फत समाधान खोज्न तत्काल आवश्यकता रहेकोमा सहमति जनाए। शरीफले मुस्लिम समुदायमा एकता अपरिहार्य भएको र पाकिस्तान शान्ति प्रवर्द्धनमा सहयोगी भूमिका खेल्न प्रतिबद्ध रहेको बताए।
यसैबीच, बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार सोमबार ईरान युद्ध अन्त्यबारे विरोधाभासी समाचारहरू आएका थिए । एक अमेरिकी रिपोर्टअनुसार, आइतबार राति दुवै पक्षबीच वार्ता भएको थियो, जसमा ट्रम्पका नजिकका दूत स्टीभ विटकफ र जेराड कुशनर सहभागी थिए।
अर्को विश्वसनीय रिपोर्टअनुसार ती वार्तामा मिस्र, टर्की र पाकिस्तान मध्यस्थका रूपमा संलग्न थिए।
गत हप्तामा साउदी अरबको राजधानी रियादमा अरब तथा मुस्लिम बहुल देशका विदेश मन्त्रीहरू भेला भई ईरानी कारबाहीको निन्दा गर्दै इजरायली आक्रमणको आलोचना पनि गरेका थिए। विशेषतः साउथ पार्स ग्यास क्षेत्रमाथि भएको इस्राइली आक्रमणप्रति ती देशहरू निकै आक्रोशित भएका थिए।
युद्धको विस्तारले क्षेत्रलाई अझ अस्थिर बनाएको छ-पहिले सैन्य अड्डामाथि आक्रमण भइरहेका थिए भने अहिले आर्थिक संरचनाहरू निशाना बन्न थालेका छन्।
यसै दिन ट्रम्पले अमेरिका–ईरानबीच युद्ध अन्त्यबारे वार्ता भएको बताएका थिए । इस्राइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ट्रम्पसँग यसबारे छलफल भएको पुष्टि गर्दै वार्ताबाट अमेरिका–ईरानको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij