Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिका र इजरायलले इरानमा हमला गरेपछि इरानले पनि प्रतिकारस्वरुप खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य अड्डलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इजरायलसँगै इरानको निशानामा खासगरी बहराइन, कुवेत, साउदी अरब, कतार, ओमान र यूएई जस्ता देशहरु पनि परेका छन् । ती देशका रणनीतिक स्थानहरुलाई निशाना बनाउने क्रममा विमानस्थल, ऊर्जा संरचना, होटल र आवास क्षेत्रजस्ता पूर्वाधारमा क्षति पुगेका समाचारहरु आइरहेका छन् ।
हालै इजरायलले विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यासखानी मानिने इरानको साउथ पार्समा आक्रमण गरेपछि त्यसको जवाफमा इरानले कतारको रास लफान ऊर्जा केन्द्रमा हमला गर्दा व्यापक क्षति पुगेको थियो । युएईको त विमानस्थल समेत इरानको निशानामा परेको थियो ।
तर खाडी देशहरूले आफ्नै बलमा इरानमाथि हमला गर्नुको सट्टा रक्षात्मक प्रणालीमा बढी जोड दिएको देखिन्छ । उनीहरूले इरानका धेरैजसो ड्रोन र मिसाइलहरूलाई आकाशमै नष्ट गरेका छन् । साथै, उनीहरू अमेरिका र इजरायलले इरानको सैन्य क्षमता कमजोर बनाओस् भन्ने त चाहन्छन्, तर आफैं सिधै युद्धमा होमिन चाहँदैनन् ।
खाडी मुलुकहरुले इरानमाथि किन हमला नगरेका होलान् ? यस प्रश्नको जवाफमा अमेरिका अमेरिकी थिङ्कट्यांक सेन्टर फर इन्टरनेसनल पोलिसीका वरिष्ठ गैरआवासीय फेलो सिना टुसी भन्छन्, ‘यदि खाडी मुलुकहरु पनि प्रत्यक्ष रुपमा युद्धमा सामेल भए पनि उनीहरु इरानको झन् ठूलो निशानामा पर्नसक्छन् र पाउने भन्दा गुमाउने कुरा धेरै हुनसक्छ । किनभने इरान कमजोर छैन भन्ने कुरा उसले प्रमाणित गरिसकेको छ ।’
खाडी देशहरूले सिधै इरानमाथि प्रत्याक्रमण नगर्नुका पछाडि अरु केही रणनीतिक र राजनीतिक कारणहरू छन् ।
१. क्षेत्रीय युद्धको जोखिम
खाडी मुलुकहरू सानो भौगोलिक क्षेत्रमा फैलिएका छन् । उनीहरूको अर्थतन्त्र तेल, ग्यास र पर्यटनमा आधारित छ । यदि उनीहरूले इरानमाथि सिधै हमला गरे भने इरानले पूर्ण शक्ति लगाएर प्रत्याक्रमण गर्न सक्छ, जसले गर्दा यी देशका पूर्वाधार र अर्थतन्त्र पूर्णरूपमा ध्वस्त हुन सक्छ । त्यसैले उनीहरू क्षेत्रीय युद्ध निम्त्याउन चाहँदैनन् ।
२. आर्थिक स्थिरता र विकासका योजनाहरू
साउदी अरब र यूएई जस्ता देशहरू अहिले ठूला आर्थिक रूपान्तरणका योजनामा छन् । युद्धले विदेशी लगानी र पर्यटनलाई पूर्ण रूपमा ठप्प पार्छ । उनीहरूका लागि युद्धभन्दा आर्थिक स्थिरता बढी महत्त्वपूर्ण छ । त्यसैले उनीहरु इरानमाथि जाइलागेका छैनन् ।
३. कूटनीतिक संयमता र मध्यस्थता
कतार र ओमान जस्ता देशहरूले सधैं इरान र पश्चिमा देशहरूबीच तनाव बढ्दा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका छन् । उनीहरू सैन्य बल प्रयोग गर्नुभन्दा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । हालैका दिनहरूमा साउदी अरब र इरानबीच चीनको मध्यस्थतामा सम्बन्ध सुधारका प्रयासहरू पनि भएको खबरहरु आइरहेका छन् ।
४. स्ट्रेट अफ होर्मुजको संवेदनशीलता
इरानसँगको प्रत्यक्ष युद्धले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरू) बन्द हुन सक्छ, जहाँबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुन्छ । यो जलमार्ग बन्द हुनु भनेको खाडी मुलुकहरूको आम्दानीको बाटो बन्द हुनु र विश्वव्यापी आर्थिक संकट आउनु हो ।
इरानको भनाइ अनुसार अमेरिका र इजरायलका जहाजलाई मात्र स्ट्रेट अफ होर्मुजको बाटो बन्द गरिएको भनिए पनि अरु देशका जहाजले पनि सो बाटो प्रयोग गरेका छैनन् । यसले गर्दा विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ । र, तेलको मूल्य आकासिएको छ । त्यसैले खाडी मुलुकहरुले इरान नियन्त्रित स्ट्रेट अफ होर्मुजको संवेदनशीलतालाई पनि ख्याल गरेर प्रत्यक्ष आक्रमण गरेका छैनन् ।
तर हालै संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा गरेका छन् ।
लन्डनस्थित किङ्गस कलेजका अन्तर्राष्ट्रिय सुरक्षा विषयका प्राध्यापक रोब जाइस्ट पिन्फोल्डका अनुसार सुरुमा खाडी मुलुकहरुले अमेरिका–इजरेलले इरानमाथि गरेको आक्रमणको विरोध गरेका थिए । इरानको प्रत्याक्रमणपछि भने उनीहरुले आफूलाई असुरक्षित ठाने । अनि तत्कालीन खतरा टार्न अमेरिकी अभियानलाई समर्थन गर्नु उचित हुने निष्कर्षमा पुगेका छन् । किनभने खाडी देशहरुको हवाई प्रतिरक्षा प्रणाली अमेरिकी सहयोगमा निर्भर रहेको पिन्फोल्ड बताउँछन् ।
त्यसैले विज्ञहरुले भनेका छन्– खाडी मुलुकहरूले इरानको व्यवहारलाई ‘आतंकवादी कार्य’ भन्दै निन्दा गरे पनि, उनीहरूले संयमता अपनाउनुको मुख्य कारण आफ्नो देशको सुरक्षा, आर्थिक भविष्य र आफ्नो क्षेत्रलाई थप विनाशबाट बचाउनु हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij