Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोमबार बिहान ड्रोन आक्रमण भएपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। विमानस्थल नजिकैको क्षेत्रमा भएको यस आक्रमणपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले उडान सेवा अस्थायी रूपमा बन्द गरेका छन्।
ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो। दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै नागरिक रक्षा टोलीहरू घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिएका छन्।
‘ड्रोन आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा क्षति पुगेको थियो, जसलाई अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ,’ मिडिया अफिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।
दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको स्पष्ट पारेको छ। उडान सेवा कहिलेदेखि पुनः सुरु हुन्छ भन्नेबारे निश्चित जानकारी नदिए पनि प्राविधिक र सुरक्षा जाँचपछि मात्र विमानस्थल सञ्चालनमा आउने बताइएको छ। विमानस्थल बन्द भएपछि दुबई आउने र यहाँबाट बाहिरिने सयौँ उडानहरू प्रभावित भएका छन्।
यो घटना कसले र किन गराएको हो भन्नेबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। अधिकारीहरूले ड्रोन आक्रमणको प्रकृति र यसको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij