Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारतको मुम्बईमा विमानस्थलमै दुइटा जहाजको पखेटा आपसमा ठोक्किएका छन् । मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साँझ साढे ७ बजे इन्डिगो र एयर इन्डियाको जहाजको पखेटा आपसमा ठोक्किएको बिबिसीले जनाएको छ ।
पखेटा आपसमा ठोक्किएपछि तत्काल दुवै विमानबाट यात्रुहरूलाई ओरालिएको थियो । घटनामा दुवै विमानका यात्रु सकुशल रहेको भारतको नागरिक उड्डयन प्राधिकरण (डिजिसिए) जनाएको छ ।
डिजिसिएका अनुसार एयर इन्डियाको फ्लाइट एआई२७३२ उडान भर्ने तयारीमा ट्याक्सीवेमा थियो । इन्डिगोको ए३२० विमान अवतरणपछि ट्याक्सीवेतर्फ जाँदै थियो ।
सोही समयमा दुई विमानको पखेटा आपसमा ठोक्किएको थियो । दुवै एयरलाइन्सको प्रवक्ताले घटनाबारे विज्ञप्ती जारी गरेको छ ।
’फ्लाइट एआई२७३२ मुंबईबाट कोयम्बटूर जाँदै थियो । टेकअफ अघि ट्याक्सीवेमा प्रतिक्षा गरिरहेको अवस्थामा अर्को विमानसँग विंगटिप सम्पर्कमा आएको थियो । हाम्रो विमानको विंगटिपमा क्षति पुगेको छ । सबै यात्रु सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएका छन् ।’
’हैदराबादबाट मुंबई आएका हाम्रो विमानको विंगटिप ट्याक्सिइङको क्रममा अर्को विमानसँग सम्पर्कमा आएको हो । सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ । विमानको जाँच प्रोटोकल अनुसार जारी छ,’ इन्डिगोका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
घटनापछि डिजिसिएको मुम्बई कार्यालयका अधिकारीहरू विमानस्थल पुगेर निरीक्षण गरेका थिए । दुवै विमानलाई हाल प्राविधिक जाँचका लागि रोकिएको बिबिसीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij