Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराम सापकोटाले निर्वाचन अवधिभर पत्रकारहरूले निष्पक्ष भएर सहयोग गर्नुपर्ने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिआइजी सापकोटाले आचारसंहितामा रहेकाहरूले त्यसको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार कर्णाली प्रदेशका हुम्ला, डोल्पा र मुगु जिल्लाका केही मतदान स्थल अतिसंवेदनशील रहेका छन् । ती क्षेत्रमा हिमपात हुने, फोन सम्पर्क नहुने र भौगोलिक विकटता भएकाले मतदान स्थलहरू अतिसंवेदनशील बनेका हुन् ।
ती क्षेत्रमा ९ वटा प्रहरी कार्यालयअन्तर्गत २० वटा मतदान स्थल रहेका छन्, जहाँ करिब ४ हजार ३ सय मतदाता रहेका छन् ।
साथै, आर्थिक वर्ष २०८२/०८३ मा अपराध अनुसन्धान शाखाको विवरणअनुसार दर्ता भएका घटनामध्ये १ हजार ४६ मुद्दामध्ये ५५२ फर्छ्यौट भएका छन् भने ४९४ मुद्दा बाँकी रहेका छन्। सो अवधिमा ८१९ जना पक्राउ परेका छन् ।
जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीहरूमध्ये रुकुम पश्चिममा ८८ जना फरार रहेकामा ७१ जना पक्राउ परेका छन् भने १६ जना अझै फरार रहेका छन् ।
जुम्लामा ४१ जना फरारमध्ये ३२ जना पक्राउ परेका छन् र ९ जना बाँकी छन् । अन्य प्रदेश मातहतका जिल्लाबाट फरार रहेका २६ जना कैदीबन्दीलाई पनि पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ४ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३ वटा चोरी र १ वटा डाँकाचोरी तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दा रहेका छन्। ती घटनामा ३ जना पक्राउ परेका थिए, जो धरौटीमा छुटेका छन् ।
लागूऔषध नियन्त्रणतर्फ १५९ ग्राम ८१७ मिलिग्राम ब्राउन सुगर, ९२६ ग्राम ७३ मिलिग्राम गाँजा, ९४ ग्राम ९५७ मिलिग्राम चरेस र २ हजार ८५३ ट्याबलेट बरामद गरिएको छ । यससम्बन्धी मुद्दामा १६३ जना पक्राउ परेका छन् । साथै, ४८३ रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती फडानी गरिएको छ ।
फैसला कार्यान्वयनअन्तर्गत २५९ जना पक्राउ परेका छन् । उनीहरूबाट २४३ वर्ष ९ महिना २४ दिन कैद सजाय र १ करोड ३२ लाख ८८ हजार ४६३ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
हातहतियार बरामदमा ९ नाल भरुवा बन्दुक, १ थान पिस्तोल, १ थान म्यागजिन, १२ राउण्ड गोली र भरुवा बन्दुकमा प्रयोग हुने १४ थान छर्रा बरामद गर्दै १९ जनालाई पक्राउ गरिएको छ ।
यस्तै, ओखेटोपहार बरामदअन्तर्गत १ थान जरायोको सिङसहित २ जनालाई पक्राउ गरिएको छ । जुवा नियन्त्रणतर्फ ६ लाख २२ हजार ३१० रुपैयाँ नगदसहित ४८ जनालाई जुवाखालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पेन्डिङ मुद्दा फर्छ्यौटतर्फ आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ५१० मुद्दा फर्छ्यौट गरिएको छ । तीमध्ये जघन्य ३४, गम्भीर २४ र सामान्य २०१ मुद्दा रहेका छन् भने २ वर्षे अवधिका २५१ मुद्दा फर्छ्यौट गरिएको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij