Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।
भारतसँग ६५ किलोमिटरको खुला सीमा रहेको जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि ५० वटा संवेदनशील तथा २८ वटा सामान्य मतदानस्थलका रुपमा रहेके जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले जानकारी दिए ।
एक सय ३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन लक्षित सुरक्षा व्यवस्था निर्माण गरिएको बताए ।
उहाँले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताउनुभयो । मतदानको केही दिनअघिबाटै सीमानाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल ९एसएसबीको संयुक्त गस्ती हुने र सो गस्ती निर्वाचनको अवधिसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले अस्थायी मतदाताको नामावली सङ्कलन कार्य जारी रहेको उल्लेख गर्दै अस्थायी मतदान केन्द्रका विषयमा निर्णय नभएको बताए । अस्थायी मतदाताको करिब ७० प्रतिशत नामावली सङ्कलन भएको शाहीको भनाइ छ । अस्थायी मतदाताले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा मात्रै मतदान गर्न पाउने छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij