Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । स्पेनका सबैभन्दा ठुलो रेल चालकहरूको सङ्गठनले फेब्रुअरी ९ देखि ११ सम्म तीन दिने देशव्यापी हडतालको घोषणा गरेको छ ।
पछिल्लो ४८ घण्टाभित्र भएका तीन वटा रेल दुर्घटनापछि रेल सुरक्षाको ग्यारेन्टी माग गर्दै हडतालको घोषणा गरिएको हो ।
यी दुर्घटनामा दुई रेल चालकसहित दर्जनौँ मानिसको ज्यान गएको छ । मंगलबार बार्सिलोनानजिक जेलिडा क्षेत्रमा मुसलधारे वर्षाका कारण ट्र्याकमा रहेको रिटेनिङ वाल भत्किँदा यात्रुवाहक रेल पटरीबाट खसेको थियो ।
उक्त दुर्घटनामा चालकको मृत्यु हुनुका साथै चार यात्रु गम्भीर घाइते भएका थिए । यसअघि आइतबार दक्षिणी कोर्डोबा प्रान्तको आदामुज नजिक दुई रेल ठोक्किँदा ४३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा एक जना रेल चालक पनि थिए ।
अनुसन्धानकर्ताहरूले दुर्घटनास्थल नजिक फेला परेको भारी मेसिनरीको टुक्रा दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण हुन सक्ने बताएका छन् ।
म्याड्रिड–अन्डालुसिया रेल सेवा फेब्रुअरी २ बाट पुनः सञ्चालन गर्ने तयारी भइरहेको यातायात मन्त्री ओस्कार पुएन्तेले जानकारी दिएका छन् ।
रेल चालक सङ्घ एसईएमएएफले यी घातक दुर्घटनालाई रेल सुरक्षाका लागि निर्णायक मोड भन्दै जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्ने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij