Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गाजा युद्धमा आफ्ना धेरै उच्च अधिकारीहरू मारिएपछि हमासले आफ्नो संगठनलाई मजबुत बनाउन आन्तरिक निर्वाचनको तयारी गरिरहेको छ । हमाससँग आबद्ध एक नेताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यसको तयारी भइरहेको छ । जमिनको अवस्था सामान्य हुनासाथ निर्वाचन गराइने बताइएको छ ।
अधिकारीका अनुसार यो निर्वाचन केही दिनभित्रै हुने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार अब हमास प्रमुख बन्नका लागि खालिद मशालको नाम सबैभन्दा अगाडि छ । इजरायलले उनलाई मार्नका लागि विष दिएको थियो । तर, त्यसले जोर्डनसँगको सम्बन्ध बिग्रिएपछि इजरायल बाध्य भएर उनलाई बचाउनुपरेको थियो ।
१५ महिनादेखि हमास प्रमुखको पद खाली
अक्टोबर २०२३ मा इजरायलसँग युद्ध सुरु भएयता हमासका दुई प्रमुख मारिइसकेका छन् । इजरायलले जुलाई २०२४ मा तेहरानमा इस्माइल हानियाको हत्या गरेको थियो । त्यसपछि अगस्टमा याह्या सिनवारलाई हमास प्रमुख बनाइयो । तर, दुई महिनापछि अक्टोबरमा सिनवार राफा सहरमा भएको गोलाबारीमा मारिए ।
सिनवार मारिएपछि हमासमा कसैलाई पनि प्रमुख बनाइएको छैन । मिडिया रिपोर्टका अनुसार युद्धको अवस्थाका कारण निर्वाचन गराउन कठिन भएकाले तत्काल कसैलाई प्रमुख नबनाइएको हो ।
नयाँ प्रमुख बनाइएमा इजरायलले उनलाई निशाना बनाउन सक्ने डर पनि थियो । त्यसपछि हमासले कतारमा रहेका पाँच सदस्यीय एक ‘अन्तरिम नेतृत्व समिति’ गठन गरेको थियो । १५ महिनादेखि यही समितिले हमाससँग सम्बन्धित निर्णयहरू लिँदै आएको छ । रिपोर्टका अनुसार हमासले आफ्नो संगठनको नयाँ नेतृत्व छान्नका लागि ५० सदस्यीय एउटा नयाँ ‘सुरा काउन्सिल’ गठन गर्नेछ । सुरा काउन्सिलको अर्थ सल्लाहकार समिति हो, जसमा वरिष्ठ नेताहरू हुन्छन् । यसका सदस्यहरू प्रत्येक चार वर्षमा चुनिन्छन् ।
यो निर्वाचन हमासका गाजा पट्टी, वेस्ट बैंक र विदेशमा रहेको हमास नेतृत्व गरी तीन क्षेत्रीय एकाइहरूद्वारा गरिन्छ । इजरायली जेलमा रहेका हमासका कैदीहरूले पनि यस निर्वाचनमा मतदान गर्न सक्छन् । उनीहरूले खुला रूपमा मतपत्र प्रयोग गर्दैनन्, बरु आफ्ना वकिल वा आफन्तहरूमार्फत मनपर्ने उमेदवारको नाम पठाउँछन् । यही सुरा काउन्सिलले प्रत्येक चार वर्षमा १८ सदस्यीय ‘पोलिटिकल ब्यूरो’ र हमास प्रमुखको निर्वाचन गर्छ ।
खालिद मशाल सबैभन्दा बलियो दाबेदार
खालिद मशालको दाबेदारी निकै बलियो मानिएको छ । उनी इजरायलसँग भइरहेको शान्ति वार्तामा हमासको तर्फबाट वकालत गर्छन् । उनी कहिल्यै गाजामा बसेका छैनन् । उनको जन्म सन् १९५६ मा वेस्ट बैंकमा भएको थियो । सन् १९८७ मा हमास गठन हुँदा उनी पनि संलग्न थिए ।
उनी सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक प्रमुख रहेका थिए । त्यसपछि इस्माइल हानियाले उनको स्थान लिएका थिए । मशाल हमासको विदेश नीतिका प्रमुख अनुहार मानिन्छन् । उनी कूटनीतिमा माहिर छन् । हाल उनी कतारको राजधानी दोहामा बसिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij