Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा पानोरामा वृत्तचित्रमा दिएको भाषणको सम्पादनलाई लिएर बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन् ।
ट्रम्पले ५ अर्ब डलर क्षतिपूर्ति माग गर्दै फ्लोरिडाको मियामीस्थित अदालतमा मुद्धा दायर गरेका हुन् । भाषण सम्पादन गरेको प्रकरणमा बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो तर उनको क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो ।
ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणलाई 'जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा परिवर्तन' गरेर उनको छविलाई क्षति पुर्याएको आरोप लगाएको छ । दायर गरिएका कागजातहरू अनुसार, ट्रम्पले बीबीसीविरुद्ध मानहानि र फ्लोरिडाको व्यापार अभ्यास कानून उल्लङ्घनको अर्को आरोपमा मुद्दा दायर गरिरहेका छन् ।
ट्रम्पले गत महिनानै जनवरी ६ मा उनको भाषण पानोरामा वृत्तचित्रको भागको रूपमा सम्पादन गरिएको तरिकामा बीबीसी विरुद्ध मुद्दा दायर गर्ने योजना बनाएको बताएका थिए ।
जनवरी ६, २०२१ मा आफ्नो भाषणमा, ट्रम्पले वाशिंगटनमा समर्थकहरूलाई भने- 'हामी क्यापिटलमा मार्च गर्नेछौं र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई समर्थन गर्नेछौं ।' भाषणको ५० मिनेटभन्दा बढी समयपछि, उनले थपे, 'र हामी लड्नेछौं। हामी हाम्रो सम्पूर्ण शक्तिले लड्नेछौं ।'
बीबीसीको पानोरामा कार्यक्रमको एउटा क्लिपमा ट्रम्पले यसो भनिरहेको देखाइएको थियो, 'हामी क्यापिटलमा मार्च गर्नेछौं... र म त्यहाँ तपाईंसँगै हुनेछु र हामी लड्नेछौं । हामी हाम्रो सम्पूर्ण शक्तिले लड्नेछौं ।'
बीबीसीले सम्पादनमा गल्ति भएको स्वीकार गर्दै मानिसहरूलाई हिंसात्मक कारबाहीको लागि प्रत्यक्ष अपील गरेको गलत धारणा सिर्जना गरेको स्वीकार गरेको थियो । यस प्रकरणमा बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा समेत दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij