Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा गरी झन्डै १६ सय जना नयाँ भर्नाका लागि शुक्रबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले कुल १५ सय ९४ जना को लागि भर्ना खुला गरेको हो ।
यो भर्नामा १५ सय ५३ जना प्रहरी जवान रहेका छन् । बाँकी पदहरूमा प्रहरी कार्यालय सहयोगी (हजाम ११ जना, कुचीकार १५ जना) र खेलाडी १५ जना का लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रहरी कार्यालय सहयोगी (हजाम र कुचीकार) का लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएका केन्द्रहरूमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन् ।
प्रहरी जवान, हजाम र कुचीकारका लागि दरखास्त फाराम सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयहरू र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरहरू मा बुझाउन सकिनेछ । यस्तै, खेलाडीको हकमा भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज (काठमाडौं) मा बुझाउनुपर्नेछ ।



© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij