Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । रूसको कामचात्का क्षेत्रको पूर्वी तट नजिकै शुक्रबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । तत्काल क्षतिको कुनै रिपोर्ट नआएको एबीसी न्यूजले जनाएको छ ।
कामचात्काका गभर्नरले पनि यस बारेमा हालसम्म कुनै ठूलो क्षति वा हताहतिको खबर नभएको बताएका छन् । तर, उद्धारकर्मीहरूलाई पूर्णरूपमा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभ्लोभ्स्क–कामचात्स्की शहरबाट १२७ किलोमिटर (७९ माइल) पूर्वमा रहेको थियो ।
भूकम्प स्थानीय समय अनुसार शुक्रबार बिहान ६:५८ बजे गएको हो । यसको गहिराइ १९.५ किलोमिटर थियो। प्रारम्भिक भूकम्पपछि ५.८ म्याग्निच्युडसम्मका पराकम्पहरू आएको बताइएको छ ।
प्रशान्त सूनामी चेतावनी प्रणालीले केही समयका लागि सूनामीको खतरा जारी गरे पनि पछि हटाएको थियो ।
यसअघि पनि सो क्षेत्रमा गत हप्तामात्रै ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जुलाईमा पनि अर्को ठूलो भूकम्प गएको थियो ।
भूकम्पपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बस्ने मानिसहरूका लागि अलर्ट जारी गरेको छ । मानिसहरूलाई सतर्क रहन र अग्लो ठाउँमा जान सल्लाह दिइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij