Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हालैको विषम् परिस्थितिबाट सामान्यीकरण हुँदै आउने क्रममा केही व्यक्ति वा समूहहरूले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचार प्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाई सीमा अपराधलगायत लुटपाट, आगजनी जस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि सञ्चालन गर्न सक्ने हुँदा यस्ता व्यक्ति तथा आपराधिक गतिविधिहरू कहीँ कतै भएको देखिएमा वा पाइएमा सहयोग गर्न अनुरोध गरेको छ ।
सशस्त्र प्रहरीले आज शुक्रबार एक अपिल गर्दै सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नं. १११४ वा अन्य सुरक्षा निकायहरूमा तुरुन्त जानकारी गराई सहयोग गरिदिन भनेको हो ।
सो अपिलमा राष्ट्रमा शान्ति र सु–व्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम् परिस्थितिमा पनि संगठन देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्णरुपमा संयमताका साथ परिचालन भइरहेको जनाइएको छ ।
राज्यद्वारा सुम्पिएको मुख्य कार्यादेशअन्तर्गत रहेको सीमा सुरक्षामा सशस्त्र प्रहरी बल, नेपाल आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तर्राष्ट्रिय सीमामा खटिएका समकक्षीलगायत सरोकारवाला अन्य निकायहरूसँगको समन्वयमा सीमाबाट हुनसक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ तथा अतिक्रमण जस्ता कार्यहरू नियन्त्रण गर्न पूर्णरुपमा कटिबद्ध रही प्रभावकारी रूपमा परिचालन हुँदै आइरहेको छ पनि अपिलमा भनिएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij