
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
धेरै मानिसहरू पहाडको पानी र भग्नावशेषमा फसेको बताइएको छ भने अहिलेसम्म ६५ जनाको सकुशल उद्धार गरिएको छ । माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको बताइएको छ ।
यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।माचैल माता यात्रा प्रत्येक वर्ष अगस्टमा हुन्छ । हजारौं भक्तजनहरू यसमा आउँछन् ।
यो २५ जुलाई देखि ५ सेप्टेम्बर सम्म चल्ने गर्दछ । यो मार्ग जम्मूदेखि किश्तवारसम्म २१० किलोमिटर लामो छ र पद्दरदेखि चाशोतीसम्मको १९.५ किलोमिटर सडकमा सवारी साधनहरू जान सक्छन् ।
त्यसपछि ८.५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।यस घटनामा दुई सिआईएएफ जवानको समेत मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ३७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अहिले राज्य र केन्द्र सरकारको समन्वयमा उद्धार राहतको काम जारी रहेको जानकारी दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij