
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । चितवनमा साउन महिनाको सुरुवाती १५ दिनमै डेंगु र स्क्रब टाइफसजस्ता सरुवा रोगको संक्रमण दर बढ्दै गएको देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये हालसम्म २० जनामा डेंगु र ३२ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार ७९८ जनाको परीक्षणका क्रममा २० जनामा डेंगु देखिएको हो । तीमध्ये १४ जना चितवनकै स्थानीय बासिन्दा हुन् भने बाँकी ६ जना अन्य जिल्लाबाट आएका बिरामी हुन् । डेंगुका संक्रमितहरू भरतपुर महानगर–सात, खैरहनी नगरपालिका, रत्ननगर र कालिका नगरपालिकाका विभिन्न वडामा रहेका छन् ।
सङ्क्रमितमध्ये ५ पुरुष र ९ महिला रहेको जनाइएको छ । यो रोग विशेष गरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ, जसले प्रायः बिहान र साँझ टोक्ने गर्छ ।
जनस्वास्थ्य कार्यालय प्रमुख डा.दिनेश रुपाखेतीले वर्षा र घामको संयोजनले लामखुट्टेको प्रजनन बढाउने भएकाले साउन, भदौ र असोजमा डेंगु को जोखिम उच्च हुने बताए। लामखुट्टेले सफा पानी जम्ने स्थानहरूमा अण्डा पार्ने भएकाले घर वरिपरिका डब्बा, टायर, गमला, प्लास्टिकका भाँडाहरूमा पानी जम्न नदिन सुझाव दिइएको छ ।
डेंगु का लक्षणमा उच्च ज्वरो, टाउको र आँखाको गेडी दुख्ने, जोर्नी र मांशपेशी दुख्ने, शरीरमा राता दाग देखिने, र रक्तस्राव हुने मुख्य लक्षण हुन् ।
यसैबीच, स्क्रब टाइफसका ३२ संक्रमितमध्ये २३ जना चितवनका हुन् भने बाँकी ९ जना अन्य जिल्लाका बासिन्दा रहेको जनाइएको छ।
स्क्रब टाइफस मुसामा पाइने माइट नामक किराको टोकाइबाट लाग्ने रोग हो, जसले ओरेन्टिया सुसुगामुसी नामक जीवाणु बोकेको हुन्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन ।
प्रमुख रुपाखेतीका अनुसार स्क्रब टाइफसबाट जोगिन खेत, झाडी वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने लुगा लगाउनुपर्ने, जुत्ता अनिवार्य लगाउनुपर्ने, र फोहोर ठाउँमा जमिनमा बस्न वा सुत्न नहुने बताए ।
स्क्रब टाइफस लागेपछि १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो, अत्यधिक पसिना, आँखा रातो हुने, झाडापखाला, शरीरका मुख्य अङ्ग प्रभावित हुने तथा टोकेको ठाउँमा रातो दाग देखिने र कालो हुनेजस्ता लक्षण देखिन्छन् ।
स्वास्थ्य अधिकारीहरूले सचेत रहन, सरसफाइमा ध्यान दिन र लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij