
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । बजेट खर्चमा काठमाडौं महानगरपालिका ‘कमजोर’ देखिएको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित कुल बजेटको करिब आधा हिस्सा मात्र खर्च गर्न सकेको हो ।
महानगरको वार्षिक खर्च केन्द्रगत बजेट तथा खर्चको विवरणअनुसार गत आवमा कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जुन बजेटमध्ये १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ मात्रै खर्च गरिएको छ । गत आवको विनियोजन बजेटको ५२.१३ प्रतिशत मात्रै खर्च भएको हो ।
गत आवमा काठमाडौं महानगरपालिकाले चालू तर्फ विनियोजन गरेको ९ अर्ब ८२ करोड २० लाख ५० हजार बजेटमध्ये ६ अर्ब २२ करोड ९१ लाख १८ हजार खर्च गरेको छ । यस्तै, वित्तीयतर्फ १२ करोड १० लाख विनियोजन भएकोमा ७ करोड खर्च गरेको छ ।
विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको अवस्था भने निराशाजनक देखिन्छ । काठमाडौं महानगरले गत आवमा पुँजीगततर्फ आधा पनि खर्च गर्न सकेन । गत आवमा यस शीर्षकमा १५ अर्ब ६ करोड ५६ लाख १ हजार विनियोजन भएकोमा ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार मात्रै खर्च भएको छ ।
सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा वडा नम्बर १२ रहेको छ । जसले आफ्नो कुल ८ करोड ८२ लाख ७३ हजारको बजेटमा ८४.७१ प्रतिशत अर्थात् ७ करोड ४७ लाख ७९ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, वडा नम्बर १० को विनियोजन बजेटमा ८२.८४ प्रतिशत खर्च हुँदा वडा नम्बर १४ को ८०.१३ प्रतिशत खर्च गरेर बजेट कार्यान्वयनमा अगाडि देखिएका छन् ।
तर, वडा नम्बर ११ को प्रदर्शन भने सबैभन्दा निराशाजनक रहेको छ । उक्त वडाले आफ्नो कुल १७ करोड ९८ लाख ८८ हजार रुपैयाँको बजेटमा जम्मा २ करोड ६५ लाख ५७ हजार १४.७६ प्रतिशत मात्र खर्च गर्न सकेको छ । कम खर्च गर्ने अन्य वडाहरूमा वडा नम्बर १ ले ३५.३४ प्रतिशत, वडा नम्बर १६ ले ३६.७५ प्रतिशत र वडा नम्बर ८ ले ४२.९४ प्रतिशत खर्च गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij