
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनलप्याब्सन) ले संविधान, शिक्षा ऐन र कानुनको दायरामा रही सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नजिकिँदो कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
नेसनलप्याब्सनका राष्ट्रिय अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणा र महासचिव प्रताप थापाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा ३१ र ५१ ले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने र शिक्षा प्रणालीलाई वैज्ञानिक, रोजगारमुखी तथा जनमुखी बनाउनु पर्ने व्यवस्था गरिएकामा, पछिल्लो समय निजी विद्यालय माथि भइरहेको व्यवहार यसको विपरीत देखिएको बताएका छन् ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार हाल नेपालमा ६६५ विद्यार्थी सामुदायिक विद्यालयमा र ३४५ विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् । निजी विद्यालयहरूले सरकारको शिक्षा क्षेत्रमा पर्ने आर्थिक भार कम गर्नुका साथै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको संस्थाको दाबी छ ।
विद्यालयहरू लाई तलब भत्ता, छात्रवृत्ति, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, घरभाडा, पानी, बिजुली लगायत दैनिक खर्च व्यवस्थापनका लागि शुल्कमा निर्भर रहनुपर्ने बाध्यता रहेको र हाल १० प्रतिशत छात्रवृत्तिको प्रावधानबाट विद्यालयहरू थप आर्थिक संकटमा परिरहेको जनाइएको छ ।
‘अभिभावक बाट उठ्न नसकेको शुल्कले गर्दा अधिकांश निजी विद्यालयहरू जर्जर अवस्थामा पुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ । निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनका लागि दिनरात मेहनत गरिरहेको भन्दै, शुल्क वृद्धिको भार उनीहरूलाई पार्नु अन्याय हुने प्याब्सनको भनाइ छ । ‘यदि शुल्कबारे पुनः विचार र छलफल नभए निजी शिक्षाको गुणस्तरमा गम्भीर असर पर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा २५ मा सम्पत्ति आर्जन, भोग र व्यवसाय सञ्चालन गर्ने हक प्रत्याभूत गरिएकाले राज्यले निजी विद्यालयको व्यवसाय अधिग्रहण गर्न नपाउने संस्थाको तर्क छ । प्याब्सनले निजी लगानीमा सञ्चालन भइरहेका विद्यालयहरू लाई अप्ठ्यारोमा पार्ने निर्णय शिक्षा क्षेत्रको दीर्घकालीन हितमा नहुने बताउँदै, विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij