
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । ६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने तयारीसाथ काम अघि बढाएको छ ।
योसँगै नयाँ ट्रायल र नवीकरणका लागि आवेदन दिएकाहरूले अब एकैपटक लाइसेन्स पाउने छन्।
यातायात व्यवस्था विभागको एउटामात्रै मेसिनले ५ लाख र बाँकी २६ लाख थान सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्नेछ । त्यसका लागि विभाग र केन्द्रबीच सम्झौता भइसकेको छ ।
हालसम्म विभागले मात्रै लाइसेन्स प्रिन्ट गरेर अति आवश्यक परेकोलाई वितरण गर्दै आइरहेको थियो । दैनिकरूपमा विभागमा आएर र अनलाइनबाट फर्म भरेर अति अत्यावश्यक परेकाहरूको ५ सय लाइसेन्स छापिँदै आएको छ । त्यसको अतिरिक्त देशभरबाट दैनिक नयाँ र नवीकरणका लागि ५ हजार लाइसेन्स प्रिन्टका लागि आउने गरेको छ ।
विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडा सुरक्षण मुन्द्रणले बाँकी रहेको मध्ये २६ लाख लाइसेन्स प्रिन्ट गर्ने भनेर सम्झौता भइसकेको बताउँछन् ।
खतिवडाले नेपाल प्रेससँग भने, ‘केन्द्रले हामीलाई ६ महिनासम्ममा २६ लाख लाइसेन्स प्रिन्ट गरेर दिने भनेको छ । एक घण्टामा ५ हजार लाइसेन्स छाप्न सक्ने मेसिन केन्द्रसँग रहेछ ।’
विभागले छाप्ने लाइसेन्समा चिप्स हुने र केन्द्रले छाप्नेमा क्यूआर राखिनेछ । विभागले छापेको लाइसेन्स प्रतिगोटा २.५० डलर अर्थात् ३४५ रूपैयाँमा तयार हुँदै आएको छ । अब केन्द्रले छपाइ गर्दा २ सयभन्दा कम खर्च लाग्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij