
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौँ। जेठ १८ गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पपछि पुनःनिर्माण गरि पौडी पोखरी सञ्चालन हुन लागेको हो ।
पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिनुभयो । पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता गरेको छ ।
आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीका बिच सम्पन्न सम्झौता बमोजिम संघले १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्य सहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिक सहित ५ जना जनशक्ति उपलब्ध गराउने छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरपालिकाले जारी गरेको आर्थिक ऐन बमोजिम पौडीको पूरा शुल्क २ सय रुपैयाँ राखिएको छ । मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ । सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ । बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन विक्रम बस्नेतका अनुसार पौडीको सिजनको केही समय वितेको हुनाले सिजनल शुल्क नलिने योजना छ ।
विद्यार्थीहरु लाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ । २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ । लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्नेछ ।
२०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij