
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । भारतको लोक सभा चुनावलाई लिएर पर्साका सीमा नाका बन्द गरिएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते लोक सभाको निर्वाचन हुँदै छ । त्यसका लागि नाका बन्द गरिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयसहितका पर्साका सीमानाका आज बिहान ६ बजेदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल-भारत सीमानाका बन्द हुने भुसालले बताए ।
प्रमुख जिल्ला अधिकारी भुसालले भने, “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो ।” पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।
भारतमा छैटौं चरणको चुनाव हुँदै छ । लोक सभाका ५४३ मध्ये अहिलेसम्म पाँच चरणमा ४२८ सीटका लागि मतदान भइसकेको छ । अब ११५ सीटका लागि चुनाव हुन बाँकी छ ।
छैटौं चरणमा जेठ १२ गते ५८ सीट र सातौं चरणमा जेठ १९ गते ५७ सीटका लागि मतदान हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij