
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । आईटी माफियाको रुपमा परिचय बनाएका विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई २ वर्ष कैद र झन्डै साढे २५ करोड जरिवाना हुने गरी भ्रष्टाचारी ठहर गरेको हो ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले विकललाई सुरक्षण मुद्रण केन्द्रको खरिद घोटालामा भ्रष्टाचारी ठहर गरेको हो । उनलाई २५ करोड ४७ लाख रुपैयाँ विगो भराउने गरी फैसला गरेको छ ।
बिगो बराबर कै जरिवाना हुने विशेषले फैसला गरेकाले विकलले आधा अर्ब रुपैयाँ बढी राज्यकोषमा जम्मा गर्नुपर्ने भएको हो ।
गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । एक वर्ष नाधेपछि विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहरेको हो ।
विकलभन्दा ६ महिना पछाडि सुनिल पौडेलविरुद्ध दायर भएको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’को भ्रष्टाचार मुद्दा फैसला भएपछि मात्र विकलको मुद्दाको फैसला भएको हो । उक्त मुद्दामा सचिव मधुकुमार मरासिनी जोडिएकाले फास्ट ट्रयाकबाट विशेष अदालतले फैसला गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij