
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत र नापी कार्यालय सञ्चालनमा आउने नआउने विषयको अन्यौलता हटेको छ । शनिबार मध्यरातमा जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ श्रेस्तालगायतका आवश्यक कागजातहरू ढल्केवर ल्याएसँगै कार्यालय सञ्चालन आउने निश्चित भएको हो।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको विशेष सक्रियता र मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कुमार महतोको अगुवाइमा कागजातहरू मध्यरातमा ढल्केवर ल्याइएको हो । कागजात ल्याउन स्थानीय प्रशासनले सहयोग गरेका थिए । प्रहरीको स्कटिङमा कागजातहरू ढल्केवर ल्याइएको हो । ढल्केवरमा मालपोत कार्यालय स्थापना भएयता जनकपुरधामका लेखापढी व्यवसायीहरू आन्दोलित बनेका थिए ।
उनीहरू विभिन्न नारबाजी गर्दै निरन्तर आन्दोलन र प्रदर्शन गर्दै आएका थिए । उनीहरूको विरोधका बाबजुद प्रहरी प्रशासनको सहयोगमा मोठश्रेष्ताहरू ढल्केवर ल्याइएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष अध्यक्ष महतोले बताए ।
उनका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साविकका गाविसहरू ढल्केवर, बेंगाडावर, तुलसी, हरिहरपुर, नक्टाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन पालिका (मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका) क्षेत्रका मोठश्रेष्ताहरू ल्याइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij