
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।
रू १० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ ।
ड्रोनको प्रयोगले जङ्गली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षितरूपले जङ्गलतर्फ फर्काउन महत्वपूर्ण सघाउ पुग्ने उप्रेतीले बताए । जङ्गल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयको आशा छ ।
ड्रोनलाई मोडिफाइ (परिमार्जन गरेर नाइटभिजन (रातिकोदृश्य) बत्ती र साइरन जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने बनाइएको उनले जानकारी दिए । उनका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जङ्गली हात्ती धपाउन सजिलो हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij