Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पोर्चुगलको समुद्रमा डुबेर नेपाली एक युवकको मृत्यु भएको छ भने अर्को युवक हराइरहेका छन् ।
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो भने सोही ठाउँका ३८ वर्षीय टेकबहादुर तामाङ भने बेपत्ता छन् ।
दुवै जना शनिबार राति हराएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । हराएकामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा पाएको थियो । टेकबहादुरको खोजी भइरहेको जनाएको छ ।
दुवै जना नाताले काकाभतिज पर्छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए ।
धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा हराएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले बताए ।
धनबहादुर वैदेशिक रोजगारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महीनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल पुगेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij