Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अमेरिकामा आपत्: विश्व जगतले गर्‍यो भत्सर्ना, बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता

अमेरिकामा आपत्: विश्व जगतले गर्‍यो भत्सर्ना, बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता

  • काठमाडौं । निर्वाचनलाई लोकतन्त्रको आत्मा भनिन्छ। त्यसैले लोकतान्त्रिक व्यवस्थामा जनअभिमत प्राप्त व्यक्तिलाई मुलुकको शासन व्यवस्थाको बागडोर सुम्पने गरिन्छ। विश्वभर अभ्यास भइरहेको लोकतान्त्रका सन्दर्भमा विश्वशक्तिका रूपमा हेरिने अमेरिकाको अभ्यासलाई उच्चतम र उदाहरणीय व्यवस्था मानिन्छ। त्यस्तो उच्चतम व्यवस्था भएकै ठाउँमा निर्वाचन प्रणालीबाट चुनिएका बहालवाला राष्ट्रपतिले नै व्यवस्थामाथि हमला गर्छन् भने बाँकी विश्वले के अपेक्षा गर्ला ? केही समयअघि सम्पन्न राष्ट्रपतीय निर्वाचनमा हारेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई आधिकारिकता दिने प्रक्रियामा समर्थकमार्फत हमला गराएका छन्। बुधबार बिहानै ट्रम्पले ह्वाइटहाउस बाहिर समर्थकहरूको र्‍यालीलाई सम्बोधन गर्दै क्यापिटोलमाथि हमलाका लागि उक्साएका थिए।

    images
    images
    images

    वासिङ्टन डिसीस्थित अमेरिकी संसद् भवनमा इलेक्ट्रोल भोटलाई आधिकारिकता दिइरहेका बेला ट्रम्प समर्थकबाट एकाएक हमला भएपछि त्यसलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा चारजनाको निधन भएको छ। निर्वाचनको नतिजा स्वीकार गर्न नसकेका ट्रम्पले समर्थकमार्फत हिंसा निम्त्याएका हुन्। उनका समर्थकले संसद् भवन क्यापिटोललाई केही समय नियन्त्रणमा लिएका थिए।

    उनको उक्त कदमप्रति विश्वभरबाट आलोचना भइरहेको छ। उनकै उपराष्ट्रपति माइक पेन्सले समेत घटनाको भत्र्सना गरेका छन्। उनले क्यापिटोलमा भएको आक्रमणलाई अमेरिकी इतिहासको अँध्यारो दिनका रूपमा सूचित हुने बताएका छन्। ‘आज क्यापिटोलमा भएको हिंसाको भत्सर्ना गर्छाैं,’ उनले भनेका छन्। पेन्सले शान्तिपूर्ण प्रदर्शन सबै अमेरिकीको अधिकार भए पनि क्यापिटोलमा भएको आक्रमण स्वीकार्य नहुने बताएका छन्। उनले घटनामा संलग्नहरूमाथि कानुनअनुसार कारबाहीको मागसमेत गरेका छन्।

    जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी संसद्मा हमला गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले अहिलेसम्म पनि हार स्वीकार गर्न नसकेको भन्दै अपशोच व्यक्त गरेकी छन्। उनले ट्रम्पले निर्वाचन प्रणालीप्रति नै सन्देह उत्पन्न गराएको आरोप लगाएकी छन्। स्पेन, फ्रान्स, स्विडेन, युरोपियन युनियनका नेताहरूले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै भत्र्सना गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अमेरिकी संसद्मा भएको हमलाले दुःखी भएको बताएका छन्। उनले हिंसाले जनचाहनामाथि राज गर्न सफल नहुने बताउँदै अमेरिकामा प्रजातन्त्रलाई यथावत् राख्नुपर्ने र त्यही नै हुने बताएका छन्।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टन डिसीमा भएका आक्रमण र हिंसाको समाचारले आफूलाई दुःखी तुल्याएको बताएका छन्। उनले कानुनसम्मत र शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरणले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै प्रजातान्त्रिक प्रक्रियालाई गैरकानुनी र विरोध प्रदर्शनमार्फत विकृत बनाउन नसक्ने बताएका छन्। सन् २०१७ मा निर्वाचन प्रक्रियाबाटै सत्तारोहण गरेका ट्रम्पले त्यसयता एकपछि अर्काे गर्दै विवादित र गैरजिम्मेवारी अभिव्यक्ति दिँदै आएका थिए। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालगायत महत्वपूर्ण सम्झौताबाट पछि हटेका ट्रम्पले कार्यकालको उत्तराद्र्धलाई पनि विवादमुक्त बनाउन सकेनन्। निर्वाचन हारेपछि पनि त्यसलाई स्वीकार नगरी आफू नै निर्वाचित भएको लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाउँदै अन्ततः प्रशंसकमार्फत संसद् भवनमाथि हमला गराएका छन्। नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij