
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोस्रोपटक दोषी ठहरीएका छन् । न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो। शर्माको मुद्दामा सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको हो।
यो फैसलासँगै अब सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसँग सम्बन्धित करिब ४०० मुद्दाहरुको सुनुवाइ हुने बाटो खुलेको छ। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलाशले २०५५ वैशाख ३० गतेदेखि उनलाई दोषी ठहर गरेको थियो।
त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए। उनको उक्त निवेदन ७ वर्षसम्म एक पछि अर्को इजलासमा अड्किँदै आएको थियो।
२०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका थिए। उनले पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्चले ५३ लाख ९९ हजार ७८० बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो। सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप ३ महिना कैद हुने फैसला सुनाएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij