
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । महँगी नियन्त्रण गर्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ । बुधवार बैंकले प्रमुख ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएको हो । ब्याजदरमा गरिएको यो सन् १९९४ यताकै आक्रामक वृद्धि हो ।
यस अघि नै बैंकले ब्याजदर आक्रामक रुपमा बढाउने अड्कल बाजी चुलिएको थियो । योसँगै अब भने ब्यजादर बढेर १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ७५ प्रतिशतबीच कायम भएको छ । यो सन् २०२० को मार्चमा कोरोना भाइरसको महामारी शुरु हुनु पूर्वयताकै उच्च हो ।
ब्याजदर वृद्धिको घोषणा पछि शेयर बजार अस्थीर बनेको भएपनि नीतिगत बैठकपछि फेड अध्यक्ष जेरोम पावेलको अभिव्यक्तिपछि भने बजारमा केही सुधार आएको थियो । बुधवार गरिएको वृद्धि असमान्य रुपमा ठूलो भएको र सामान्य अवस्थामा यति ठूलो वृद्धिको अपेक्षा आफूले नगरेको फेड अध्यक्ष जेरोम पावेलले भनेका छन् ।
यद्यपि, जुलाईमा पनि ब्याजदर शून्य दशमलव ५० प्रतिशतदेखि शून्य दशमलव ७५ प्रतिशतले बढ्न सक्ने उनले बताए । ब्याजदर वृद्धिको निर्णय बैठकै पिच्छे गरिने र फेडले सकेसम्म स्पष्ट भएर आफ्नो ब्याजदर वृद्धिको आशयबारे सर्वसाधारणलाई जानकारी दिने पनि पावेलले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij