Jun 04 2026 | २०८३, जेठ २१ गते
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गर्नु भएको छ ।
एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाई गर्नु भएको थियो । रिपब्लीकन र डेमोक्रेट दुबै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुबै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए ।
कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि पनि झण्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो ।
पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने थिए ।
फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहनु भएका राष्ट्रपति ट्रम्पले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुनः काममा फर्कन, खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत गर्नेछ ।”
अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनले समेत दुबै सदनद्वारा पारित आम सहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्प समक्ष आग्रह गर्नु भएको थियो ।
त्यस्तै रिपब्लीकन सिनेटर मिट रम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा आफू निकै खुशी भएको बताउनु भएको छ । ट्वीट गर्दै सिनेटर रम्नीले विधेयक स्वीकृत भएसँगै अमेरिकी श्रमिक, परिवार र साना व्यवसायीले निकै राहतको महशुस गर्ने बताउनुभयो । यसअघि आइतबार उहाँले राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिनु भएको थियो ।
राष्ट्रपति ट्रम्पले विधेयक स्वीकृत गर्नेक्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६०० अमेरिकी डलरको साटो १८०० डलर दिनुपर्ने आफ्नो पूर्व अडान यथावत रहेको दोहो–याउनु भएको छ । उहाँले असम्बन्धित कार्यक्रममा राहत प्याकेजको रकम खर्च हुन लागेको जिकिर गर्नुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij