
May 19 2025 | २०८२, जेठ ५ गते
रामेछाप । देउराली हत्या कान्डको जिउँदो सहिद नीर कुमार श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा रामेछापको देउराली वडामा अध्यक्ष बन्ने दोस्रो अवसर पाएका छन् । रामेछाप नगरपालिका वडा नम्बर–२ को अध्यक्ष श्रेष्ठलाई पार्टीले फेरि अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले दोस्रो पटक देउरालीको अध्यक्ष बन्ने अवसर पाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगरपालिका वडा नम्बर–२ को वडा समिति र रामेछाप नगर समितिको संयुक्त बैठकले वडा अध्यक्ष समेत रहेको श्रेष्ठलाई फेरि अध्यक्ष पदमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । वडा अध्यक्षको लागि श्रेष्ठसँगै १० जनाको दाबी रहेपनि आफूलाई पार्टी र साथीहरुले विश्वास गरेर फेरि अध्यक्ष पदको लागि उम्मेदवार बनाउने निर्णय सर्वसम्मत रुपमा पारित गरेको श्रेष्ठले बताए । निर्वाचन आयोगले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि अहिले अहिले दलका नेताहरु गाउँ गाउँमा आफ्नो उम्मेदवार छान्न व्यस्त छन् ।
रामेछाप नगरपालिकाको सफल वडाध्यक्षको रुपमा आफूलाई स्थापित गरेका श्रेष्ठलाई पार्टीले दोस्रो पटक पनि अध्यक्ष पदमा उठाउने निर्णय गरेको छ । रामेछाप नगरको ९ वडामध्ये श्रेष्ठले नेतृत्व गरेको वडामा तुलनात्मक रुपमा बढी विकास भएको छ । जनसम्पर्क र जनचासोको विषयलाई सबैभन्दा बढी महत्व दिएर समाधान गर्न खोज्ने श्रेष्ठले आफूलाई देउरालीका जनताले फेरि एक पटक सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरेका छन् । मृत्युको मुखबाट बचेर आएका श्रेष्ठले आफूले पाएको नाफाको जिन्दगी देउरालीको जनताको नाममा खर्च गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
देउराली हत्या कान्डको समयमा उनी सानो उमेरको भएको कारण बचेका थिए । तत्कालीन साही सेनाले माओवादीको आरोपमा उनी सहित ७ जनालाई २०५९ साल कार्तिक ७ घरबाट गिरफ्तार गरेर सालुको देविस्थानमा लगेर सामूहिक रुपमा निर्मतापूर्वक गोलि ठोकेर हत्या गरेका थिए । आफूलाई साँक्षी राखेर आँखै अगाडि ६ जनाको हत्या देखेका श्रेष्ठ आफूले सकुन्जेल पदमा रहेर वा नरहेर भएपनि देउरालीका जनताको सेवा र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij