
May 19 2025 | २०८२, जेठ ५ गते
रामेछाप । निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै अहिले स्थानीय तहहरुमा उम्मेदवारको दाबी आउँन थालेको छ । राजनीतिक दलहरु आन्तरिक रुपमा पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्ने तयारी गरि रहेको बेला पार्टी निकटका नेताहरुले भने आफूलाई उम्मेदवार घोषणा गर्न थालेका छन् । अहिले राजनीतिक दलहरु स्थानीय तहमा वडा सदस्यदेखि पालिका अध्यक्ष–प्रमखसम्मको उम्मेदवार छनोट गर्ने आन्तरिक तयारीमा लागिरहेको छ ।
रामेछाप जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका दलका नेताहरु आफूलाई स्वाघोषणा गर्दै हिड्न थालेका छन् । मन्थली नगरपालिका रामेछापको प्रमुख र रणनीतिक हिसावले राजनीतिक दलहरुले मुख्य नगरपालिको रुपमा हर्ने गर्दछ । राजनीतिक रुपमा मुख्य मानिने उक्त नगरपालिकाको प्रमुख बन्नको लागि आहिले दलका नेताहरु स्वाघोषणा गर्दैै हिड्न थालेका छन् । पार्टीको आन्तरिक तयारी र निर्णय विना नेताहरुले आफूलाई नगर प्रमुखको दाबेदारी गर्न थालेपछि अहिले मन्थली नगरपालिका कुन पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने चासो बढ्न थालेको छ । भने, जिल्ला पार्टीका मुख्य नेताहरुको नगरप्रमुखको उम्मेदवार बन्ने आकांक्षा देखाएपछि दलहरुलाई पनि निर्णय गर्न समस्या पैदा हुन थालेको छ ।
मन्थली नगरपालिकाको लागि मुख्यतया सामाजवादी र माओवादी कसले नगरप्रममुखको टिकट लिने भनेर लागिरहेका छन् । केन्द्रीय सरकारको गठबन्धन घटक यी २ दल जसले टिकट लिएपनि आफूहरुले जित्ने आँकलन गरिरहेका छन् । आगामी निर्वाचनमा कांग्रसले पनि गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको छ । कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गरेर जाने निर्णय गरेको छ । मन्थली नगरपालिकामा कांग्रेसले तालेमेल नगरेपनि माओवादी र समाजवादी मिल्ने विषयमा नेताकार्यकताहरु विश्वस्त छन् । अघिल्लो निर्वाचनमा माओवादी एक्लै निर्वाचन लड्दा थोरै मतले पराजित भएको मन्थलीमा यो पटक समाजवादीसंग मिल्दा आफूले जित्ने दाबीसहित नगर प्रमुखको लागि दाबी गरिरहेको छ ।
को–को छन्, मन्थली नगरमा प्रमुखको दाबी
मन्थली नगरपालिकाको नेतृत्व गरि रहेको नेकपा(एकीकृत) समाजवादीको रामेछापको अध्यक्ष तथा बहालवाला मेयर रमेश बस्नेतले पनि फेरि मेयर बन्ने आकांक्षा गरेका छन् । उनी अहिले पनि मेयर भएको र पार्टीको जिल्ला अध्यक्षसमेत भएको कारण स्वत दाबी रहेको बस्नेतले बताए । उनले आफ्नो पार्टी केही समय अघि मात्र स्थापना भएको कारण आफूहरु अहिले गठबन्धन गरेर चुनाव लड्नु पर्ने मान्यतामा रहेको बताए । त्यसो गर्दा आफूले दाबी गरेको प्रमुखको उम्मेदवारभन्दा आफूलाई चुनावी गठबन्धन मुख्य हुने उनले बताए ।
त्यस्तै समाजवादी कै अर्को नेता तथा जिल्ला कमिटिको उपसचिव तथा विद्यार्थी नेता दिपक बुढाथोकीले पनि मन्थली नगरको प्रमुख बन्ने इच्छा व्यक्त गरेका छन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेको बुढाथोकी यो पटक आफू मन्थली नगरको प्रमुख बन्न योग्य व्यक्ति भएको दाबी सहित उम्मेदवार भन्ने घोषणा गरेका छन् ।
त्यस्तै मन्थली नगर प्रमुख बन्न माओवादीको ६ जनाको दाबी रहेको छ । शंकर बोहोरा‘निर्मल’ रामबहादुर तामाङ, दिपक प्रसाई, भक्त बहादुर बलम्पाकी, वडाध्यक्ष राम बहादुर कार्की, उद्धव रम्तेल रहेका छन् । दाबी गरि रहेका नेताहरुमध्येबाट सहमति नभएको अवस्थामा पूर्वसांसद तारानाराण श्रेष्ठको नाममा सहमति हुने माओवादी रामेछापका युवा नेता गंगालाल गोलेले जानकारी दिए । आफूलाई पार्टीले टिकट दिएको अवस्थामा साम दाम दन्ड भेद सबै चिज प्रयोग गरेर चुनावमा प्रतिस्पर्धा गर्न तयार रहेको नगर प्रमुखका दाबेदार तथा माओवादीका मन्थली नगर समितिको सचिव राम तामाङले बताए । उनले आफूभन्दा धेरै सिनियर नेताहरु भएको कारण जवरजस्ति नगर्ने पनि बताए । त्यस्तै वडाध्यक्ष नारायाणदास श्रेष्ठले उपप्रमुखको दाबी गरेका छन् ।
तर, माओवादी केन्द्र रामेछाप जिल्लाको सचिव समेत रहेका पूर्वसांसद श्रेष्ठले भने अहिले आफ्नो यो विषयमा कुनै धारण नरहेको बताए । ‘मंगलबार बसेको मन्थली नगर समितिको बैठकमा साथीहरुले सामान्य रुपमा आफ्नो धारणा राखे थप अर्को बैठकमा छलफल गर्ने निर्णय भएको छ’ श्रेष्ठले भने । चुनावमा गठबन्धन भएको अवस्थामा पूर्वसांसद तारानायण श्रेष्ठलाई अघि सार्ने माओवादी नेताहरुले बताउने गरेका छन् ।
त्यस्तै कांग्रेसका नेता युवराज भट्टराईले पनि पार्टीको आफू सबैभन्दा बलियो दाबेदार रहेको भन्दै उम्मेदवार घोषणा गरेका छन् । कांग्रेसका अर्को नेता विनोद कार्कीले पनि आफू सबैभन्दा बलियो दाबेदार रहेको घोषणा गरेका छन् । कांग्रेसमा नगर प्रमुखको पदको दाबेदार कुमार श्रेष्ठको पनि रहेको छ ।
मन्थली नगरपालिकामा राम्रो छवी बनाएका चन्द्रकुमार वाइवाले आफूले चैत्र २१–२२ मा मन्थली नगरको प्रमुखको उम्मेदवारको घोषणा गर्ने बताए । उनले पार्टी र नेताहरु तथा जनताले पनि आफूलाई विश्वास गरेको दाबी गरेको छन् । पार्टीका नेता कार्यकर्ता र जनताले समेत आफूलाई विश्वास गरेको कारण आफूले टिकट पाउने दाबी वाइवाको रहेको छ ।
एमालेबाट जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ सहितको नेताहरु आफूलाई नगर प्रमुखको रुपमा दाबी गरिरहेका छन् । एमाले रामेछापको अध्यक्ष समेत रहेको श्रेष्ठले आफू जिल्लाको अध्यक्ष भएको हैसियतले नगर प्रमुखमा स्वभाविक दाबी रहेको बताए । त्यस्तै मन्थली नगरपालिकाकी उपप्रमुख तथा एमाले नेतृ माया कार्कीको पनि प्रमुखमा दाबी रहेको छ । त्यस्तै अन्य नेताहरु ध्रुव कार्की, लव श्रेष्ठ, रामबाबू घिमिरे, वडा अध्यक्ष कृष्णहरी अधिकारी रहेका छन् ।
माओवादी केन्द्रले स्थानीय निर्वाचनको लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ । अहिलेसम्म माओवादीले दोरम्बा सैलुङ गाउँपालिकाको वडामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिसेकेको छ । भने चैत्रको २० गतेसम्म जिल्लाको सबै वडाका अध्यक्ष र वडा सदस्यको उम्मेदवार टुंग्याउने तयारी सहित आन्तरिक छलफल बैठक गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij