Jun 06 2026 | २०८३, जेठ २३ गते
युक्रेनबाट २ सय ४४ जना नेपालीहरुको उद्धार भएको छ । रुस-युक्रेन द्धन्द्धमा प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले उनीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको जानकारी दिएको हो । समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् ।
यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना, स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र मोल्डावाको सीमामा २ जना नेपालीहरु रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सीमा पार गर्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै रहेका छन् ।
रुस-युक्रेन द्धन्द्ध प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए ।
उच्चस्तरीय समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित भएको जानकारी दिए । गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र केही खुकुलो भएको बताए ।
स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिए । उनले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको उनले जानाकारी दिए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पुर्याउन सकृय रुपमा लागि परेको उनले बताए । रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए ।
उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij