
Apr 02 2025 | २०८१, चैत २० गते
सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्यो । सातदिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो । सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए ।
दूरी पालना गर्न आह्वान गर्ने उपमहानगरपालिका र त्यसको पालना गर्नुपर्ने नगरवासी दुवैको हेलचेक्र्याइँको उदाहरण खोप केन्द्रमा देखियो। ‘नगरपालिका एकातिर सामाजिक दूरी कायम गर्नु भन्दै माइकिङ गर्छ, अर्कोतिर यसरी मान्छे भेला पारेर खोप लगाउँछ’, इटहरीको कस्तुरी स्कुलमा शिक्षण गर्दै आएकी गीता सुवेदीले भनिन्, ‘कोरोना भाग्ने त हो कि होइन, उल्टो सर्यो कि भन्ने चिन्ता भयो ।’
इटहरी–८ की ५५ वर्षीय चम्पादेवी खड्कालाई पनि खोप लगाउने व्यवस्थापन चित्त बुझेन । इटहरी चोक बोलाएर उपमहानगरपालिकाले नगरवासीलाई भीडमा हुलेको आरोप लगाइन् । भनिन्, ‘खोपले कोरोना रोक्छ कि रोक्दैन थाहा छैन । तर, यस्तो भीडमा त उल्टै कोरोना बोकेर गइन्छ जस्तो छ।’ अन्नपूर्ण दैनिक
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij