
Apr 01 2025 | २०८१, चैत १९ गते
महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि खटिनुभएका चिकित्सकहरु, नर्सहरूलगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
नयाँ भेरियन्टसहितको कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि महालक्ष्मी नगरपालिकाले हरसम्भव प्रयासहरु गरिरहेको आदरणीय नगरबासीमा जानकारी नै छ । नगरपालिकाले अभिभावकीय भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गरिरहेको छ । आगामी दिनमा आदरणीय नगरबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुको सुझावका आधारमा सेवाहरुलाई थप व्यवस्थित, प्रभावकारी र सर्वसुलभ बनाउँदै लगिने जानकारी गराउन चाहन्छु ।
महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि खटिनुभएका चिकित्सकहरु, नर्सहरूलगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु । महामारीविरुद्ध अग्रपङ्तिमा कार्यरत चिकित्सकहरु, नर्सहरू र स्वास्थ्यकर्मीहरूले यस असमान्य घडीमा संक्रमितको उपचार र व्यवस्थापनमा खटेर जुन खालको त्याग, समर्पण र लगनशीलता प्रदर्शन गर्नुभएको छ, त्यस कार्यको म उच्च प्रशंसा गर्दछु । महामारीका समयमा आफ्नो ज्यानको प्रवाह नगरी खट्नुभएका एम्बुलेन्स चालकहरु पनि धन्यवादको पात्र हुनुभएको छ । बिरामीलाई समयमै अस्पतालमा पुर्याउन, रातबिहान नभनी संक्रमितको उपचार तथा आइसोलेसनसम्म पुर्याउन एम्बुलेन्स चालकहरुले गर्नुभएको कार्यप्रति सम्मान व्यक्त गर्दछु ।
मृतकहरुको शव व्यवस्थापनमा खट्नुभएका नेपाली सेनाको टिम, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, महामारीमा पनि नगरको सरसफाइमा खट्नुभएका सरसफाइकर्मीहरु, सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरु तथा सामूदायिक हितका लागि खटिनुभएका विभिन्न सामाजिक संस्था तथा समूहका स्वयंसेवकहरुप्रति पनि धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यमा विचलित नभई कर्तव्य निर्वाह गर्न आह्वान गर्दछु । अन्त्यमा जारी गरिएको निषेधाज्ञाको कडाइपूर्वक पालना गर्दै स्वास्थ्य मापदण्ड र स्वअनुशासनमा रहेर कर्तव्य निर्वाह गर्नुभएका आदरणीय नगरबासीहरुमा धन्यवाद ज्ञापन गर्दछु । उच्च मनोबल र सकारात्मक सोचले मात्रै महामारीलाई परास्त गर्न सकिने भएकाले आदरणीय नगरबासीलाई विचलित नहुन हार्दिक आह्वान गर्दछु।
रामेश्वर श्रेष्ठ
मेयर, महालक्ष्मी नगरपालिका
#महालक्ष्मी नगरपालिका #रामेश्वर श्रेष्ठ #कोभिड १९
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij