Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेपछि उत्सव मनाउँदा फ्रान्समा ४०० भन्दा बढी पक्राउ परेका छन्।
आर्सनललाई पेनाल्टीमा हराउँदै पीएसजीले उपाधि जितेपछि फुटबल समर्थकले सडकमा आगो बालेर अशान्ति मच्चाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
राजधानी पेरिसमा आतिशबाजी र आगजनी गरेर बस र रेल सेवा अवरुद्ध पारेपछि उनीहरुलाई नियन्त्रण गर्न हजारौं सुरक्षाकर्मी खटाइएको थियो।
भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो। झडपमा धेरै प्रहरीहरू पनि घाइते भएका थिए।
पीएसजीको लागि यो लगातार दोस्रो जित भएपनि समर्थकहरुको उत्सव भने घातक बन्यो।
खेल सुरु हुनुभन्दा अघि पनि पार्क डेस प्रिन्सेसस्थित स्क्रिनमा फाइनल हेर्न पुगेका प्रहरी र समर्थकहरू बीच झडप भएको थियो।
अशान्तिको क्रममा छ वटा सवारी साधन, दुई व्यवसाय र एउटा बस आश्रयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बिहानसम्म ४१६ जनालाई पक्राउ गरिएको बताएको छ, जसमा पेरिसमा मात्रै २८० जना पक्राउ परेका छन्।
गृहमन्त्री लरेन्ट नुनेजले सात जना सुरक्षाकर्मी घाइते भएको र अशान्तिलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ रहेको बताए।
खेलाडीहरूले आइतबार दिउँसो विजय परेडमा भाग लिने कार्यक्रम छ, जसमा आइफेल टावरको छेउमा रहेको च्याम्प–डे–मार्सको भ्रमण र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा आयोजित स्वागत समारोह समावेश छ।
गत वर्ष पनि पीएसजीको युरोपेली च्याम्पियनशिप जितपछि भएको झडपमा १७ वर्षीय किशोरसहित दुई जनाको मृत्यु भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij