Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। नेपाली महिला राष्ट्रिय भलिबल टोलीले घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज बलियो प्रतिद्वन्द्वी इरानसँग सेमिफाइनल खेल्दैछ।
नेपाली टोएी साविक विजेता इरानलाई माथ दिंदै फाइनलमा पुग्ने दाउमा रहेको छ। यता इरान उपाधि रक्षा गर्न चाहन्छ। तुलनात्मक रुपमा इरान नेपाल भन्दा बलियो छ।
नेपाल भारतसँग ३-२ ले हारेपछि कीर्गिस्तान र माल्दिभ्सलाई सोझो सेटमा हराउँदै समूह उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो।
इरानले भने बलियो काजकिस्तानसँगै बंगलादेश र श्रीलंकालाई सोझो सेटमा हराउँदै अर्को समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। जारी च्याम्पियनसिपमा उसले कुनै पनि खेलमा सेट गुमाएको छैन । एफआइबीको वरियतामा अगाडि रहेको काजकिस्तानलाई समेत हराउँदा इरान उच्च मनोबलका साथ आज नेपाल विरूद्ध उत्रनेछ।
नेपालले ३ खेलमा ८ सेट जितेको छ भने ३ सेट हारेको छ। महिला भलिबलको विश्व वरियतामा नेपाल इरान भन्दा १० स्थान पछि छ। इरान ४४ औं वरियतामा रहँदा नेपाल ५४ औं वरियतामा छ।
वरियतामा अगाडि छ र जारी प्रतियोगितामा इरानको प्रदर्शन उत्कृष्ट रहेको छ। तर पनि घरेलु कोर्टमा इरानलाई नेपालले हराइसकेको इतिहास छ। यसअर्थ इरानलाई हराउनको लागि नेपालले सदृढ र संगठित खेल खेल्नु जरूरी छ। यसअघि इरान र नेपालले दुई पटक राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नै खेलेका थिए।
नेपाल र इरानबीचको खेल आज साँझ ५ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ। यसऔगरी अर्को सेमिफाइनलमा भारत र काजकिस्तानबीच खेल हुनेछ। सो खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
२०२४ को काभा महिला च्यालेन्ज लिगमा लिग चरणमा नेपाल इरानसँग ३-२ ले हारेको थियो। तर यसपछि नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो।
यो पटक पनि नेपालको भेट सेमिफाइनलमा हुँदैछ। नेपाली टोली २०२४ को भन्दा फेरिएको छ। नयाँ खेलाडीको बाहुल्यता छ। अनुभवको कमी हुन सक्छ। तर प्रशिक्षक जगदीश भट्टले लिग चरणको ३ खेलमा सबै १४ खेलाडीलाई नै खेलाएका छन्।
इरान अनुभव, रिच र स्पिडमा अगाडि रहेको बारे प्रशिक्षक भट्ट जानकार छन्। त्यसैले तीन दिनको ब्रेकमा उनले ब्लकलाई मिलाउने, डिफेन्सलाई मजबुत बनाउने र सर्भिसलाई पावरफुल बनाएको बताएका छन्। साथै खेलाडीलाई मोटिभेट गर्न टोलीले भरपुर प्रयास गरेको पनि प्रशिक्षक भट्टले बताए।
कप्तान निरूता ठगुन्नाले इरानका खेलाडीको हाइटको कारण बलियो ब्लकलाई तोड्ने र सर्भिसलाई सशक्त बनाएर तयारी गरेको बताइन्।
नेपाललाई आज घरेलु दर्शकको साथ बलियो पक्ष हुन सक्छ। आजको खेल जितेमा नेपाल फाइनलमा त पुग्छ नै वरियताको लागि समेत निकै महत्वपूर्ण रहनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij